केही दिनदेखि कैलाली, कञ्चनपुरसहितका तराईका जिल्लामा बाक्लो कुहिरो र हुस्सुसँगै चलेको शीतलहरले जनजीवन कष्टकर बनेको छ । दिनभरि लाग्ने बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरले जाडो बढेपछि जनजीवन कष्टकर बनेको हो । कैलाली, कञ्चनपुरसहितका जिल्लामा लगातारको हुस्सुका कारण पछिल्ला दिनमा घाम झुल्किन नपाएर दिउँसै अँध्यारोजस्तो भइरहेको छ । कठ्याङ्ग्रिने जाडोको सामना गरिरहेका सर्वसाधारणलाई न्यानो कपडा र आगो ताप्न दाउराको समस्या भइरहेको छ । सहरी क्षेत्रका कतिपय सार्वजनिक चोकमा दाउराको विकल्पमा काम नलाग्ने पुराना टायर र प्लाष्टिक बालेर सर्वसाधारणले आगो ताप्नुपर्ने बाध्यता छ । धनगढी उपमहानगरपालिकाका–१३ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल वितरण गरिरहेको छ । यस वर्ष विगतका वर्षको तुलनामा केही दिन ढिलोगरी चलेको शीतलहरले बढेको जाडोका कारण मजदुर, स्कुले बालबालिका, वृद्धवृद्धालाई बढी असर पारेको छ । धेरै विद्यालयले जाडोको बिदा दिए पनि कतिपय निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमा चिसोका कारण पर्नसक्ने जोखिमको बेवास्ता गरेर अझै बिदा दिएका छैनन् । “पठनपाठनलाई नियमित बनाउने निजी विद्यालयबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूल मौसममा पनि बिदा नदिने प्रवृत्ति देखिएको छ, चिसोले सबैभन्दा बढी साना बालबालिकालाई असर पुगिरहेको छ”, एक शिक्षकले भन्नुभयो । तराईका जिल्लामा देखिने शीतलहरको समस्याले बर्सेनि जनजीवन नराम्रोसँग प्रभावित हुने गर्छ ।