पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन । पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताउनुभयो । उहाँका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ । फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पिएएस जेभी झापाले रु ६० करोड २७ लाखको लागतमा गत ०७६ असार ३० गते सो आयोजनाको जिम्मा लिएको थियो । उक्त आयोजनाको समय अवधि आगामी २०८० असार मसान्तसम्ममा सकिँदैछ तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्यसम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ । विसं २०७८ मसान्तसम्मै आयोजनाको काम सकिनुपर्ने भए पनि कोभिड महामारीको कारण दुई वर्ष समय थपिएको थियो । यस्तै यासोक सरखण्डे १३ दशमलव तीन किलोमिटर सडक रहेको आयोजनाको काम कोभिडले दुई वर्ष समय थपिएको थियो । अब यो आयोजनाको काम आगामी बर्ष असार मसान्तमा सकिँदैछ । यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।