कैलालीको दौलतपुरस्थित कर्णाली नदीमा माघे सङ्क्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ । नेपाली संस्कृति परिषद्को आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘कर्णालीधाम’मा मकर सङ्क्रान्तिको अवसरमा आगमी माघ १ गते लाहान माघी स्नान कार्यक्रम आयोजना थालिएको हो । माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा पाँच हजार बढी नागरिक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय सङ्गठन महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँरले बताउनुभयो । उहाँले कर्णाली नदीमा नेपालका अधिकांश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको जनाउँदै यहाँको विकास तथा प्रचारप्रसार गर्न यसवर्ष धेरैको सहभागितामा कार्यक्रम गर्न थालिएको बताउनुभयो । ‘‘कर्णाली नदी पवित्र नदी हो, यसको महत्व बुझाउन कार्यक्रम गर्न थालेका हौँ’’, उहाँले भन्नुभयो,‘‘कर्णाली नदी धाम निर्माण गर्न पहल भइरहेको छ ।’’कार्यक्रम सफल पार्न स्थानीयस्तरमा टीकापुर– ५ का पूर्व वडाध्यक्ष रामशङ्कर डगौराको संयोजकत्वमा समिति गठन भएको छ । माघे सङ्क्रान्तिका दिन पहिला ब्राह्मणहरुद्वारा यज्ञ हुने त्यसपछि स्नान हुने बताइएको छ । स्नान कार्यक्रममा महिला र पुरुषका लागि स्नानका लागि फरक–फरक स्थान बनाइँदैछ । यसका साथै नदी किनारमा आगो ताप्ने व्यवस्था, सामूहिक आरतीको व्यवस्था गरिएको छ ।