सिरहाको लहान नगरपालिकामा अवस्थित ऐतिहासिक एवं धार्मिक पर्यटकीयस्थल सलहेश फूलबारीको संरक्षण तथा विकासमा जोड दिइएको छ । पौराणिककालमा जनताको अत्यधिक सम्मान पाएका लोकनायक उनैको राजा सलहेसको वीरता झल्काउने गरी मुख्य प्रवेशद्वार निर्माण, फूलबारीका वरिपरि घेराबार, पोखरीको संरक्षण, निर्मित संरचनालाई मर्मतसम्भार तथा प्रयोग र अन्य पूर्वाधार निर्माण गरिने भएको छ । आफ्नो वीरता, पुरुषार्थ र व्यक्तिद्वारा पूजित उनीसँग सम्मिलित यस जिल्ला धेरै ऐतिहासिकस्थल रहेका छन् । प्रत्येक वर्ष वैशाख १ गते जुडशीतल (सिरुवा पर्व) मा यहाँ ठूलो मेला लाग्ने गर्दछ । सहलेस फूलबारी जिल्लाको साविक सिस्वानी गाउँ विकास समिति हाल लहान नगरपालिकामा रहेको धार्मिक तथा ऐतिहासिकस्थल हो । लहानको सहिदचोकदेखि चार किलोमिटर पश्चिम पूर्वपश्चिम लोकमार्गदेखि दक्षिणमा करिब नौ बिघामा फैलिएको सो फूलबारी दुसाध र दनुवार जातिका इष्ट देवताका रूपमा प्रसिद्ध रहेको छ । सलहेस गाथामा वर्णन गरिएअनुसार राजा सलहेसले एकैदिनमा मानिक दहमा नुहाउने, फूलबारीमा फूल टिप्ने, सिलहट अखाडामा कुस्ती खेल्ने तथा कुलदेवीको पूजा गरी कञ्चनगढमा पीरमार्का सुन्ने गर्दथे । हारामको रुख नजिकै सहलेस राजा तथा मालिनीको मन्दिर रहेको छ । त्यहाँ गरेको भाकल पूर्ण हुने जनविश्वास रहिआएको छ ।