परम्परागत अन्नका रुपमा प्रयोग हुने कोदोको उत्पादन घट्दै जान थालेको छ ।जिल्लाको लिमचुङ्बुङ , उदयपुरगढी ,रौतामाई र ताप्ली गाउँपालिकामा कोदो खेती हुँदै आएको छ । लिमचुङ्बुङ–४ बलाम्ता लाकुका कृषक गोविन्द राई भन्नुहुन्छ, “विगतमा गाउँको खाली जग्गा बारीमा सबैले अनिवार्य कोदोखेती गर्दथे, हिजोआज अधिकांश पाखाबारी जग्गा बाँझै रहन्छ, अनि कोदो खेतीतिर पनि कृषकले मन दिन छाडेपछि फाटफुट्ट मात्र कोदो खेती हुने गरेका कारण उत्पादन घट्दै गएको हो ।” रौतामाई –४ आँपटारका कृषक लोकबहादुर राईका अनुसार कोदो नै खान र कोदोमा नै निर्भर हुने चलन हराएको र सबैले चामल नै किनेर खान थालेपछि गाउँघरमा कोदो खेतीमा कमी आएसँगै उत्पादनमा पनि कमी आएको हो । रौतामाई गाउँपालिका बोलुङखाका कृषक प्रेमप्रसाद काफ्लेले गाउँघरमा कोदोको ढिँडो खाने चलन पनि घट्दै गएको र कोदो खेती हुने बारीमा कोदो धेरै कृषकले खेती नै गर्न छाडेका कारण उत्पादन पनि घट्दै गएको बताउनुभयो । त्रियुगा –१५ खाँबुका कृषक जोगबहादुर पुलामी मगरले १० वर्षअघिसम्म पनि आफूहरुको गाउँको अधिकांश घरजग्गा पाखाबारीमा धेरै कोदोखेती हुनेगरेको भए पनि अहिले गाउँका अधिकांश युवा विदेश भएका कारण पाखाबारी जोतेर कोदोखेती नै हुन छाडेको बताउनुभयो ।