अमेरिकाको भुटनिज युथ स्पोर्ट्स क्लब (बिवाइएससी) मिनेसोटा पोखरामा जारी ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज सम्पन्न दोस्रो सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लब काठमाडौँलाई १–० गोलले हराउँदै बिवाइएससीले फाइनलमा सङ्कटा क्लबसँगको भेट पक्का गरेको हो । सङ्कटा क्लब बुधबार सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गर्दै फाइनल पुगिसकेको छ । पहिलो हाफको अतिरिक्त समयमा बिवाइएससीका रोजिन प्रजापतिले गरेको एकमात्र गोल टोलीलाई फाइनलमा पु¥याउन पर्याप्त रह्यो । प्रवीन बस्नेतको क्रस पासलाई सदुपयोग गरी रोजिनले हेडरमार्फत गोल गर्नुभएको हो । खेलको ८४औँ मिनेटमा आशिष चौधरीले दोहोरो पहँेलो कार्ड (रातो कार्ड) खाँदै मैदान छाडेपछि चर्च ब्वाइज दश खेलाडीमा सीमित भएको थियो । खेलको निर्धारित समयमा दुवै टोलीले गोलका केही सुन्दर मौका खेर फालेका थिए । खेलका निर्णायक गोलकर्ता प्रजापति ‘म्यान अफ दी म्याच’ घोषित हुनुभयो । प्रतियोगिताको फाइनल खेल शनिबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु १२ लाख र उपविजेताले रु छ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने आयोजक सहाराका महासचिव रामजीप्रसाद अधिकारीले बताउनुभयो ।