त्रियुगा नगरपालिका क्षेत्रको वडा नं १ जोगिदह र २ को खैजनपुर क्षेत्रमा रातिको समयमा हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि अहिले गाउँले त्रसित भएका छन् । खैजनपुर र जोगिदह क्षेत्रमा दैनिक रातको समयमा छभन्दा बढी हात्तीको बथान गाउँमा पवेश गरेर खेतीबाली नोक्सान गर्ने गरेका कारण आफूहरु त्रसित भएर रात काट्न बाध्य हुनु परेको खैनजुरका उदय चौधरीले बताउनुभयो । एक हप्तादेखि रातको समयमा हात्तीको बथान नजिकैको चुरिया जङ्गलबाट गाउँ प्रवेश गर्ने गरेको बताइएको छ । हात्तीको बथान गाउँ प्रवेश गर्न थालेपछि आफूहरु रातभरि जाग्रम बस्नुपर्ने बाध्यता रहेको खैजनपुरकै देवलाल चौधरीले बताउनुभयो । जोगिदहको मोथ्याई तथा सोमबारे क्षेत्रमा समेत केही दिनदेखि हात्तीको बथानले नोक्सानी गर्न थालेको छ । गाउँ प्रवेश गरेर नोक्सानी गर्न थालेपछि गाउँलेहरु रातभरि हात्तीको डरले एक ठाउँमा भेला भई बस्न बाध्य हुनुपरेको जोगिदह मोथ्याईका देवराज कार्कीले बताउनुभयो । शीतलहरका कारण विद्यार्थीको उपस्थिति न्यून चिसो बढेसँगै शीतलहरसमेत सुरु भएपछि जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी तथा बेलका नगरपालिका क्षेत्रका विभिन्न सरकारी तथा निजी विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून रहेको छ ।