नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आफ्नो पार्टी विपक्षमा रहुञ्जेल सशक्त प्रतिपक्षी दलको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । उहाँले कांग्रेसले संसद्मा जनसरोकारका विषय, राष्ट्रियता अखण्डता, जनताका आवश्यकताका विषय, सुशासन, विकास, रोजगारीलगायतका विषयलाई प्राथमिकताका साथ सशक्तरुपमा उठाउने बताउनुभयो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि नयाँ सरकार गठनसँगै विपक्षी दल बनेको कांग्रेसका प्रवक्ता डा महतले आज पत्रकार सम्मेलन गरी पार्टीका धारणा सार्वजनिक गर्नुभएको हो । निर्वाचनमा तत्कालीन सत्तागठबन्धनले कांग्रेसको नेतृत्वमा अपेक्षाकृत सफतला नपाए पनि सन्तोेषजनक सफलता प्राप्त गरेको उहाँको भनाइ थियो । कांग्रेस गठबन्धनमा कही कतै विचलित नभएको र निरन्तरता दिन पूरै कोसिस गरेको बताउँदै उहाँले भन्नुभयो, “हामीले कही कतै पनि वैकल्पिक समर्थन जुटाएर सरकारको नेतृत्व लिनेतर्फ पनि कुनै प्राथमिकता दिएनौँ, त्यो अवस्थामा गठबन्धन टुट्नु र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन छोडेर जानुमा कांग्रेसको कुनै दोष छैन् । यद्यपि सरकारको नेतृत्व उहाँलाई दिएर गठबन्धन बचाउने विकल्पका बारेमा छलफल गर्ने, सोच्ने र निर्णय गर्ने समय प्राप्त भएन ।”