टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन थालेको हो । अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर रु २८ हजार आम्दानी भएको जानकारी दिएको छ । अस्पतालमा जडान भएका दुई अटोक्लेभ मेसिनमा प्लाष्टिकजन्य फोहर प्रशोधन हुन एक घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन दुई घण्टा लाग्छ । अस्पतालमा एउटा अटोक्लेभ मेसिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका)ले दिएको थियो भने अर्को मेसिन विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको थियो । स्वास्थ्य सङ्गठनकै सहयोगमा मेसिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिनुभयो । “प्लाष्टिकजन्य फोहर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मेसिन जडानपछि सहज भएको छ”, उहाँले भन्नुभयो, “हामीले स्थानीय पालिकामा सङ्कलन भएको फोहर प्रशोधनमा पनि सघाउन सक्छौँ । हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौँ । पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौँ ।” अस्पतालमा फोहर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रङका बाल्टिन राखिएका छन् । प्लाष्टिकजन्य र रगतजन्य फोहर राख्नका लागि हरेक वार्डमा रातो, निलो, हरियो रङका बाल्टिन राखिएका छन् । साथै सिसाजन्य फोहर राख्नका लागि साना बाल्टिन राखिएका छन् ।