बिहान सबेरै उठ्नु, ०७ देखि ०९ बजेसम्म हुने ‘ट्युसन क्लास’ भ्याउनु, फेरि १० नबज्दै विद्यालय पुग्नु । सिरहाको इँटाटारस्थित तेनुवापटी आधारभूत विद्यालय कक्षा ४ मा अध्ययनरत छात्रा राधनाकुमारी सदायको दिनचर्या दुई वर्षदेखि यस्तै छ । केही समय पहिले पढ्न र स्कूल जानुपर्छ भनेपछि झर्को मान्ने छोरी राधनामा आएको परिवर्तन देखेर दङ्ग हुनुहुन्छ उनका बुबा भरोसी र आमा निलमदेवी । राधनाका बुबाआमा मात्रै होइन, पढाइप्रतिको लगाव र विद्यालयमा नियमित आउने उत्साह देखेर दङ्ग हुनुहुन्छ विद्यालयका प्रधानाध्यापक रतनदेव सिंह पनि । यस्तै परिवर्तन आएको छ तेनुवापटी आधारभूत विद्यालयमा कक्षा ६ मा अध्ययनरत निखलेसकुमार सदाय र विष्णुकुमार सदायमा पनि । उनीहरु दुवै जना स्कूल जान औधि मन गर्छन् अचेल । राधना, निखलेस र विष्णुलाई मात्रै होइन, सिरहाका चारवटा वस्तीका करिब १५३ विद्यार्थीमा यस्तै परिवर्तन आएको छ । तर यस्तो परिवर्तन भने त्यसै आएको होइन । दलित बस्तीका यी बालबालिकालाई रमाइलो मानेर स्कुल जाने र ट्युसन पढ्ने वातावरण बनाई दिएको हो, दलित जनकल्यान युवा क्लब, लहानले । विविध समस्याका कारण विद्यालय जान र पढ्न खासै रुची नगर्ने दलित समुदायका बालबालिकालाई ‘फ्रिडम फण्ड’को आर्थिक सहयोगमा पठनपाठनदेखि आवश्यक शैक्षिक सामग्री सहयोग गर्न थालेपछि परिवर्तन देखिन थालेको क्लबका अध्यक्ष उमेशकुमार बिसङ्केले जानकारी दिनुभयो ।