उदयपुर जिल्लाको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले राम्रै आर्थिक आम्दानी गर्न थालेका छन् । अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डी गढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरुले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरु बताउँछन् । केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रुपमा रिट्ठा खेती विस्तार हुँदै गएको कृषकहरु बताउँछन् । नगदे बालीका रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिट्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित रौतामाई गाउँपालिकाको आँपटार, मुर्कुची, नामन्त, नामेटार क्षेत्रमा व्यावसायिक रुपमा रिट्ठाखेतीमा वृद्धि हुँदै गएको उदयपुरगढी–३ डुम्रेका एक कृषक बेगबहादुर घले मगरले बताउनुभयो । रौतामाई गाउँपालिका–५ आँपटारका रिट्ठा उत्पादक कृषक हर्कबहादुर राईका अनुसार विगतमा आफूले दुई–चार बोटमात्र रिट्ठा खेती सुरु गरेको भए पनि यसको मूल्य वृद्धि हुँदै गएर राम्रो आम्दानी गर्न सकिने भएको कारण अहिले केही वर्षयता आएर व्यावसायिक रुपमा नै रिट्ठा उत्पादनमा वृद्धि गरेको राई बताउनुहुन्छ ।