पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका कावासोतीका व्यवसायी नारायणपसाद भुर्तेलले बताउनुभयो साँझपख पनि चिसो झनै बढ्न थालेपछि बजार संसाँझै सुनसान हुन थालेका छन् । यद्यपि न्याना कपडाका पसलमा भने ग्राहकको भीड बढेको उहाँले जानकारी दिनुभयो । सडकपेटीमा कपडाको व्यापार बढेको देखिन्छ उहाँका अनुसार स्थानीयवासीले न्याना लुगा जोहो गर्न थालेका छन् । बाक्लो हुस्सु र शीतका कारण पूर्व–पश्चिम राजमार्गमा यातायात सञ्चालन पनि प्रभावित भएको छ । कठ्याङ्ग्रिँदो चिसोसँगै बाक्लो हुस्सु लाग्दा सवारीसाधनको आवागमनमा असर परेको हो । बाक्लो हुस्सुले गर्दा बिहान १० मिटरभन्दा पर देख्न नसकिँने नारायाणघाट–कावासोती रुटमा चल्ने बसका चालक मनोज महतोले बताउनुभयो । यसले गर्दा दुर्घटनाको जोखिम बढेको उहाँको भनाइ छ ।