काठमाडौँ महानगरपालिका भित्रका सहकारीको नियमनमा समस्या देखिएको छ । राजधानीभित्रै यो खालको समस्या छ भने देशका अन्य स्थानको अवस्था के होला ? आम मानिसमा जिज्ञासा उत्पन्न हुनु स्वभाविक नै छ । तर, देशकै सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका भित्रै सहकारीको नियममा समस्या मात्रै नभइ कतिपय त सम्पर्कमासमेत छैनन् । महानगरपालिका अन्तर्गतको सहकारी विभागका अनुसार नियामकको सम्पर्कमै नआउने र सम्पर्कमा आएर पनि कानुन बमोजिम विवरण नबुझाउनेको सङ्ख्या अत्याधिक रहेका छन् । यसबाट सहकारीको मर्म एवं भावना अनुसारको काम हुन नसकेको पाइएको छ । विभागका अनुसार काठमाडौँ महानगरपालिका मात्रै कार्यक्षेत्र रहनेगरी हालसम्म दर्ता भएको सहकारीको सङ्ख्या एक हजार नौ सय ६९ रहेको छ । तीमध्ये झण्डै तीन सय बढी सहकारी अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आधा बढी सहकारीले नियमअनुसार समयमा विवरण अद्यावधिक गरेका छैनन् । सहकारी ऐन तथा नियमावलीअनुसार प्रत्येक सहकारीले आर्थिक वर्ष सकिएको छ महिनाभित्र सम्बन्धित सहकारी विभागमा साधारणसभा तथा कर चुक्ताको प्रमाणपत्रसहित विवरण अद्यावधिक गर्नुपर्छ । तर, एक हजार बढी सहकारी अघिल्लो आर्थिक वर्षकै विवरण अद्यावधिक गरेका छैनन् ।