मधेस प्रदेशसभा सभामुखको निर्वाचन आगामी माघ २ गतेका लागि तोकिएको छ । नवनिर्वाचित प्रदेशसभाको आजको पहिलो बैठकमा सभाअध्यक्ष गोविन्दबहादुर न्यौपानेले आगामी माघ २ गते सभामुखका लागि निर्वाचन हुने जानकारी दिनुभयो । उहाँले पुस २९ गते सभामुखको निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गर्न प्रदेशसभा सचिव रञ्जितकुमार यादवलाई निर्देशन दिनुभयो । बैठकले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिनुभयो । मनोनित सदस्यहरुमा सांसदहरु रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहनुभएको छ । सभालाई प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउत, पूर्वसभामुख सरोजकुमार यादव र अधिवेशन प्रारम्भ भएको अवसरमा विभिन्न दलका १४ जना प्रदेशसभा सदस्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा मुख्यमन्त्री लालबाबु राउतले संविधानको कार्यान्वयन र सङ्घीयताको संस्थागत विकासका लागि सत्तापक्ष र प्रतिपक्ष नभनी सबै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सङ्घीयतालाई बोझको रुपमा चित्रित गर्दै यसलाई बोक्न सकिन्न भन्नेहरुका विरुद्ध मधेस प्रदेशका सबै दलले एकताबद्ध भएर जवाफ दिनुपर्ने धारणा राख्नुभयो ।