धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले उकालो लागेको छ । पछिल्ला दिनमा लगातार उकालो लागेको नेप्से परिसूचकले आज पनि त्यही लय पछ्याएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७ दशमलव ५६ अङ्कले उकालो लागेर दुई हजार ६३ दशमलव ८३ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ८८ अङ्कले उकालो लागेर तीन सय ९४ दशमलव ८९ अङ्कमा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ भने १० उपसमूहको शेयर मूल्य वृद्धि भएको छ । कारोबार भएकामध्ये एक सय ६५ कम्पनीको शेयर मूल्य वृद्धि भएको हो । यस्तै ३९ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा सात कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन । कूल ८२ लाख ७१ हजार तीन सय ५५ कित्ता शेयर रु दुई अर्ब ९६ करोड नौ लाख २७ हजार चार सय ४० मूल्यमा खरिद बिक्री भए । कारोबारका आधारमा नवील बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु १६ करोड ८४ लाख ५१ हजार दुई सय ८२ बराबरको कारोबार भयो ।