कोरोना महामारीमा लागू भएको बन्दाबन्दीका कारण कैयन उद्योग तथा व्यवसाय प्रभावित भए । बन्दाबन्दीका कारण केही उद्योग बन्द समेत भएका थिए । कोरोना महामारीका कारण प्रभावित उद्योग व्यवसाय अझै पनि पुरानै लयमा फर्कन सकेका छैनन् । यसैबीच नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा कडाइ गरेपछि यहाँका उद्योगी व्यवसायी रुष्ट बनेका छन् । राष्ट्र बैंकले जारी गरेको उक्त मार्गदर्शन र बैंकहरुले बढाएको कर्जाको ब्याजदर विरूद्ध यहाँका उद्योगी व्यवसायीले लुम्बिनी प्रदेशमा आन्दोलन सुरु गरेका छन् । चालु पुँजी मार्गदर्शन तथा बैंक एवं वित्तीय संस्थाको नीति अव्यावहारिक भएको उनीहरुको दाबी छ । उनीहरुले उक्त नीतिविरुद्ध बुटवलमा हस्ताक्षर अभियान नै चलाएका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ, रुपन्देही उद्योग सङ्घ, रुपन्देही व्यापार सङ्घ, उद्योग व्यापार सङ्घ बुटवल, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, सिद्धार्थ उद्योग वाणिज्य सङ्घ र उद्योग व्यापार सङ्गठन रुपन्देहीलगायतका संस्थाले आन्दोलनस्वरुप धर्ना, विरोध ¥यालीजस्ता कार्यक्रम गरेका छन् । आर्थिक सङ्कटका कारण कर्जाको ब्याज समेत बुझाउन नसक्ने अवस्था सिर्जना भएको व्यवसायी गोविन्द ज्ञवालीको भनाइ छ । मार्गदर्शनमा फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कूल रु दुई करोड वा सोभन्दा कम रकमको चालु पुँजी कर्जाको सीमा निर्धारण गर्दा अनुमानित वार्षिक कारोबार÷बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कूल चालु पुँजी कर्जा सीमा कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।