अधिकारीचौरगाउँ अर्थात् ‘तरकारी गाउँ’ । गाउँभरी प्लास्टिकका टनेल । टनेलभित्र लटरम्म फलेका गोलभेँडा, फक्रिएका बन्दा र काउली । एकदशक अगाडिसम्म गहुँ, जौ, धान र मकै फल्ने अधिकारीचौरका खेतीयोग्य जमिनमा अहिले तरकारीखेती भइरहेका छन् । अहिले ती बारीमा सेताम्मे प्लास्टिका टनेल छन् । पहिले गहुँ, मकै उत्पादन गरे परिवार पाल्न गाह्रो हुने किसानलाई अहिले लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका छन् । ढोरपाटन नगरपालिका–५ मा पर्ने अधिकारी चौर र नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेतीमा आबद्ध छन् । विसं २०७५ देखि गाउँलेले सुरु गरेको व्यावसायिक तरकारी खेतीले अहिले ठूलो रुप लिएको छ । कृषकले तरकारी खेतीलाई विस्तार गरेपछि गाउँका बाँझो जमिन पनि प्रयोगमा आएका छन् । युवाले रोजगार पाएका छन् । गाउँमा दुई सय २० घर परिवार छन् । उनीहरु सबै तरकारी खेतीमै आबद्ध छन् । यहाँ प्लास्टिक टनेल नहालेको कुनै परिवार छैन । बुर्तिबाङ बजार नजिकै रहेको अधिकारीचौर तथा नाथुरी गाउँका अधिकांश नागरिक तरकारी खेती गर्दै आएका छन् । बजारीकरणको समस्या नभएको हुँदा यहाँका कृषकले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको स्थानीय कृष्णलाल कँडेलले बताउनुभयो । कँडेलले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोँच विकास भएपछि अधिकारीचौर र नाथुरीगाउँ ‘तरकारी गाउँ’का रुपमा विकास भएको बताउनुभयो । पछिल्लो समय यहाँ तरकारीखेती फस्टाउँदै गएपछि गाउँले नै यसतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ ।