खप्तडछान्ना गाउँपालिका–४ की बासमती खत्री पालिकामा हुने मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रममा अग्रभाग देखिनुहुन्छ । गाउँघरमा हुने मेलामा देउडा, विवाह, गौरा तथा पूजापाठमा गाउने माङ्गल, देउसी, भैली, गौरा पर्वमा हुने हरेक कार्यक्रम उहाँको प्राथमिकतामै पर्छन् । पछिल्लो साता उहाँ भुवा चाल केन्द्रित हुनुहुन्छ । पुस्तौँ पुरानो पर्वलाई जोगाउनका लागि गत साता गाउँमा भुवा सुरू गरेपछि गाउँघरकी महिलालाई जम्मा पारेर हातमा ढाल तरबार बोक्दै भुवा खेल्न थाल्नुभयो । शिक्षण पेसामा आवद्ध उहाँ करिब एक दशकयता स्थानीयस्तरमा मौलिक पर्व जोगाउने अभियानमा हुनुहुन्छ । उहाँ विद्यालयमा पनि बालबालिकालाई स्थानीय भाषा, संस्कृति, संस्कार जोगाउने कुरामा जोड दिनुहुन्छ । गत सातायता खत्रीवाडा, बासकाटियाँ, माझिगाउँलगायतका गाउँका महिलाको समूहले पाण्डवको विजयोत्सव आफूले पनि मनाउनुपर्ने भन्दै भुवा खेल्न थालेका हुन् । “प्राचीनकालीन युद्धमा पनि एक्लैले लडेर पनि सम्भव भएन होला”, उहाँले भन्नुभयो, “पाण्डव र कौरवको लडाइँमा पनि भित्री हात महिलाकै थियो । त्यो बेलाको युद्धमा महिलाले साथ दिन हुने तर अहिले पाण्डवको विजयोत्सवमा महिला किन नहुने भन्दै हामी पनि भुवा चालमा सहभागी भएका हौँ ।”