सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गाउँ हेलम्बुमा एक सय ७३ मिटर उचाइबाट साहसिक खेल बञ्जीजम्प गर्न पाइने भएको छ । हेलम्बु गाउँपालिका–१ स्थित ङिवादावामा बनेको पुलमा बञ्जीजम्प खेल सञ्चालन गर्न लागिएको हो । कूल तीन सय ७० मिटर लम्बाइमा बनेको झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ । गाउँपालिका अनुसार उमा÷थानी हिमशिखर जेभीसँग रु दुई करोड ३५ लाखमा ठेक्का सम्झौता भई पुल निर्माण सम्पन्न भएको हो । गुम्बाको सहर भनेर चिनिने हेलम्बुमा आन्तरिक तथा बाह्य पर्यटकलाई थप आकर्षित गर्न बञ्जीजम्प खेलाउने उद्देश्यका साथ पुल निर्माण गरिएकोे गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । बञ्जीका लागि गाउँपालिकाले गत वर्ष डाएनएल जोशी कन्सल्टेन्सीलाई विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गर्ने जिम्मा दिएको थियो । डिपिआरले रु पाँच करोड ३९ लाख बजेट लाग्ने अनुमान गरेको छ । ह्योल्मो जातिको बसोबास रहेको हेलम्बु धार्मिक सांस्कृतिक र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । पर्यटन प्रवद्र्धनका लागि ६० किलोमिटर लामो ग्रेटट्रेलको निर्माण कार्य सुरु भइसकेको छ । “पर्यटक भित्र्याई हेलम्बुवासीलाई अर्थतन्त्रमा अब्बल बनाउने यो अभियान हो”, गाउँपालिका अध्यक्ष शेर्पाले भन्नुभयो, “झोलुङ्गे पुल तयार भएसँगै अब बञ्जीजम्पको कामको थालनी गरिनेछ ।