पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै ४७ वर्षपछि पोखरेली जनताको सपना पूरा भएको बताउनुभएको छ । आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटनमा प्रमुख आचार्यले विमानस्थल सञ्चालनमा आएसँगै पोखरालाई पर्यटनको राजधानीका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । विमानस्थल सञ्चालनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै उहाँले विमानस्थल सञ्चालनका समस्याका रुपमा रहेका ल्याण्डफिल साइटको व्यवस्थापन तथा रिठ्ठेपानी डाँडा कटानको काम पूरा गरेको बताउनुभयो । उहाँले विमानस्थल सञ्चालनमा आउनका लागि महानगरअन्तर्गत वडा नं १४ का जनताको ठूलो योगदान रहेको बताउनुभयो । “वडा नं १४ का जनताले आफ्नो जग्गा अधिग्रहणमार्फत सरकारलाई उपलब्ध गराएकाले यहाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्भव भएको हो”, उहाँले भन्नुभयो । कार्यक्रममा विमानस्थल निर्माणका परिकल्पनाकार शङ्करराज पाठक र पूर्वपर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीको ठूलो योगदान रहेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो ।