शुक्लाफाँटा नगरपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का सम्झौता गरेपछि स्थानीय बासिन्दा सङ्गठित भई आन्दोलित भएका छन् । नदीजन्य पदार्थ उत्खनन हुने प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित भएका हुन् । नगरपालिकाले आव २०७८÷७९ मा नदीजन्य पदार्थबाट रोयल्टी सङ्कलनका लागि सुनबरा नदी, वनहरा नदी र अनौखी खोलाबाट नदीजन्य पदार्थ उत्खननका लागि गणपति कन्ट्रक्सन प्रालिसँग रु ६८ लाख १३ हजारमा ठेक्का सम्झौता गरेको छ । तटीय क्षेत्रका स्थानीयले नदी कटानी नियन्त्रण सुनिश्चितता नहुँदासम्म उत्खनन गर्न नदिन रुकुमसिंह ठगुन्नाको संयोकत्वमा सङ्घर्ष समिति गठन गरेका छन् । समितिमा शङ्करबहादुर साउद र पप्पु विश्वकर्मा सदस्य रहेका छन् । समितिले नदीजन्य पदार्थ उत्खनन हुने क्षेत्रमा तटबन्ध निर्माण, सडक निर्माण कार्य, सडकमा दैनिक पानी छर्कने व्यवस्था र रोयल्टीबापतको रकम प्रभावित क्षेत्रको विकास निर्माणमा खर्च गर्न माग अघि सारेका छन् । माग सम्बोधन नभएसम्म नदीजन्य पदार्थ उत्खनन गर्न नदिने सङ्घर्ष समितिका संयोजक ठगुन्नाले बताउनुभयो । “नदीजन्य पदार्थ दोहन हुँदा जग्गा कटान गरी उठिबास गराउने कार्य हुन दिदैनौँ”, उहाँले भन्नुभयो, “माग सम्बोधन गरी नदी नियन्त्रण गर्ने प्रतिबद्धता गरी कार्य अगाडि बढाए मात्रै नदीजन्य पदार्थ उठाउन दिन्छौँ ।” सङ्घर्ष समितिले आज दिउँसो वडा नं ८ को कार्यालय शान्तिपूर्ण घेराउ गर्ने र पुस १९ गते नगरपालिका घेराउ गर्ने कार्यक्रम तय गरेको छ । नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले विकास निर्माणका लागि कसैले पनि अवरोध गर्न नहुने बताउनुभयो ।