जिल्लाको मालिका मन्दिर यतिबेला प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । धार्मिक एवंं ऐतिहासिक स्थान यस मन्दिरको महत्व थप रोचक छ । गुल्मीको मुसिकोट नगरपालिका–६ अन्तर्गत कुर्घास्थित रहेको यस मन्दिरको रोचक पनि भनेको यहाँ बर माग्दा चिच्याएर माग्नु पर्छ । नेपालको उच्च कोटीमा रहेका धार्मिकस्थलमध्ये बेग्लै महिमा र पहिचान भएकै कारण यहाँ विशेष पर्वहरुमा श्रद्धालुहरुको ठूलो घुइँचो लाग्ने गर्दछ । यस मन्दिरमा दर्शन एवं पूजाआजाका लागि गुल्मीलगायत अर्घाखाँची, बाग्लुङ, प्यूठान, बुटवललगायत काठमाडौँका मानिसहरू आउने गर्दछन् । मालिका मन्दिरमा बर मागे र भाकल गरेपछि मनले चिताएको कुरा सबै पुग्दछ भन्ने जनविश्वास छ । मालिका भगवतीले कान कम सुन्ने भएका कारण यहाँ बर माग्दा चिच्याएर बर माग्नुपर्ने प्रचलन रहेको छ । यस मन्दिरमा कुनै पनि वर मागी भाकल गरेपछि मनोकामना पूरा हुने विश्वासले गर्दा मन्दिर जाने जो कोहीले पनि भाकल गरेपछि परेवा उडाउने र बलि दिने प्रचलन छ । यहाँ आउने भक्तजनहरूले भिन्नभिन्न प्रकारका वर माग्दछन् । कोही वैदेशिक रोजगारमा जान पाऊँ, कोही विदेशी सेनामा भर्ती हुन पाऊँ, जागिर खान पाऊँ, लोकसेवा पास गर्न पाऊँ, सन्तान नभएको भए चाँडै सन्तान जन्मियोस् जस्ता अनेकौँ वर माग्ने गरेको सुनिँदै आएको छ ।