बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै रु तीन करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरणअनुुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट रु साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै रु ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ । आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती गर्नुभएका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष रु पाँच लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताउनुभयो । उहाँले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको गुनासो गर्नुुभयो । “सिगानामा म जस्तै झण्डै ६०भन्दा बढी किसान रहेको अनुमान छ, तथ्याङ्क सङ्कलनमा अझै कमजोर छौँ, स्थानीय वडा कार्यालयलाई यसको कुनै जानकारी छैन, कुनै किसानले न्यूनतम रु २५ हजारदेखि अधिकतम रु पाँच लाखसम्म सुन्तलाको व्यापार गर्र्दछन्”, किसान खड्काले भन्नुभयो, “यस वर्ष सुन्तलाको दाना निकै राम्रो छ तर धेरै स्थानमा उत्पादन बढेपछि सुन्तला व्यापारीले कम मूल्यमा सुन्तला खरिद गरेको पाइयो, हाम्रो अनुमानमा सिगानामा यस वर्ष रु तीन करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ ।” उहाँका अनुसार पोखराका व्यापारीले यहाँ किसानका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजल राम्रो गरेपछि यस वर्ष किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।