म्याग्दीको पौराणिक स्थल पछैमा निर्माण थालिएको रावण उद्यान अधुरै रहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिकाले वडा नं ५ को पछैमा गत वर्षदेखि उक्त उद्यान निर्माण सुरु गरेको थियो । बजेट अभावका कारण निर्माण रोकिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । “कर्मचारीले भौतिक र वित्तीय प्रगति विवरण नपठाएका कारण बजेट काटिँदा उद्यान निर्माणको काम रोकिएको हो,” उहाँले भन्नुभयो, “बजेटलाई निरन्तरता दिन मन्त्रालयसँग समन्वय गरिएको छ । मन्त्रालयले बजेट नपठाउँदा निर्माण व्यवसायीले भुक्तानी नपाएर काम गरेका छैनन् ।” समस्या पहिचान भएपछि तत्कालै प्रतिवेदन पठाएर चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन भएको र निर्माण व्यवसायीलाई काममा फर्काउन पहल गरिएको नगर प्रमुख केसीले बताउनुभयो । उद्यान बनाउन काठमाडौँको धर्मा एस कास्यप जेभीले गत भदौमा रु एक करोड ७६ लाख ७७ हजारमा ठेक्का सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले उद्यान निर्माणस्थल घेराउका लागि पर्खाल निर्माण र मूर्ति तयार पारेको छ । पर्यटन मन्त्रालयले रु दुई करोड ११ लाख र नगरपालिकाले रु एक करोड १४ लाख विनियोजन गरेर ठेक्का आह्वान गरिएको थियो । विसं २०७९ पुसमा उद्यान निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि बजेट अभावका कारण सफल नभएको निर्माण कम्पनीका इञ्जिनियर सन्तोष ओझाले बताउनुभयो । पछैमा पौराणिक महत्व झल्कने किसिमको रावणको आकर्षक मूर्ति राख्ने, बगैँचा निर्माण, नाबी गाडेकोलगायत ठाउँको संरक्षणका लागि पूर्वाधार र दुई सय मिटर कालोपत्र गर्ने योजना छ । चौध रोपनी क्षेत्रफलमा फैलिएको पुलह पुलत्स्य क्षेत्रको चार रोपनीमा रामायण पार्क बनाउन लागएको हो ।