उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभइ उपस्थित प्रहरी कर्मचारीलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढङ्गले सम्पादन गर्न निर्देशन दिनुभएको छ । उहाँले प्रहरी कर्मचारीको मनोबल उच्च पारी नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्ने वातावरण सिर्जना गराउन तालुक मन्त्रालयबाट सहयोग र सहजिकरण गर्न सदैव तत्पर रहेको समेत बताउनुभयो । गृहमन्त्री लामिछानेले सर्वसाधरणको प्रहरी सेवामा सहज पहुँचको व्यवस्था र दण्डदहिनताको अन्त्यको साथै भ्रष्ट्राचारमा शून्य सहनशिलताको नीति व्यवहारमा लागू गर्न समेत निर्देशन दिनुभयो । उहाँले गुण्डागर्दी, सीमा क्षेत्रमा हुने भन्सार छलि, तस्करी तथा अन्य अनियमितता, लागूऔषध बिक्री वितरण र सेवनलाई पूर्णत निस्तेज पार्न विषेश कार्ययोजना बनाई कार्यसम्पादन गर्न पनिे निर्देशन दिनुभयो । कानुन कार्यान्वयनको शिलसिलामा कसैको दवाव र प्रभावमा नपरी निष्पक्ष र पारदर्शी भई कानुनले दिएको अधिकार पूर्ण प्रयोग गर्न पनि आग्रह गर्नुभयो । सो अवसरमा गृहमन्त्री लामिछानेलाई प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले स्वागत गर्नुभएको थियो । निरीक्षण भ्रमणका क्रममा गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ विभाग र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यससम्बन्धी गतिविधिबारे जानकारी हासिल गर्नुभयो ।