लालझाडी गाउँपालिका–३ पर्सियाकी राधिका राना गृहिणीबाट माथि उठ्दै पछिल्लो समय गाउँका महिलासित मिलेर च्याउको बीउ उत्पादनमा सक्रिय हुनुहुन्छ । पुस्तौँदेखि कृषि पेसाबाट जीविका चलाउँदै आएका उहाँ पछिल्लो दुई वर्षयता खेती किसानीसँगै गाउँका १५ महिलासँग मिलेर च्याउको बीउ उत्पादन गरी बिक्री वितरण गरिरहनुभएको छ । “धान, गहुँभन्दा च्याउको बीउ उत्पादनबाट राम्रो आम्दानी हुँदो रहेछ”, उहाँले भन्नुभयो, “फुर्सदको समयमा गाउँमै च्याउ उत्पादन गर्ने सानो उद्योग सञ्चालन गरेर आयआर्जनमा जुटेका छाँै ।” सामान्य लेखपढ गरेकी रानाले एक दिने च्याउको बीउ उत्पादन गर्ने तालिम लिएर अहिले मेसिन चलाउन सक्ने भएको उहाँ बताउनुहुन्छ । राधिकाजस्तै पर्सियाका राना थारु समुदायका महिला दातृ तथा स्थानीय वडा कार्यालयको सहयोगमा च्याउको बीउ उत्पादनमा जुटेका छन् ।