मुलुकको प्रमुख पर्यटकीय नगर पोखरालाई हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट)बाट झिलिमिली बनाउने काम सुरु भएको छ । उज्यालो पोखरा अभियानअन्तर्गत पोखराका मुख्य मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती राखी झिलिमिलि बनाउने काम भइरहेको छ । पोखरा महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको साझेदारीमा पोखराका २३ मुख्य चोकमा १६ मिटर अग्लो पोलमा २३ वटा हाइमास्ट लाइट जडान भइरहेको छ । चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान भइरहेको प्राधिकरणले जनाएको छ । हालसम्म आठ वटा हाइमास्ट लाइट जडान गरिएको छ । महानगरभित्रको ५० किलोमिटर मुख्य सडकमा एक हजार छ सय २४ वटा सडक बत्ती जडान गरिने छ । जसमध्ये ऊर्जा दक्षतायुक्त ९० वाटका एक हजार एक सय चार वटा र १२० वाटका पाँच सय २० वटा स्मार्ट बत्ती जडान गरिने छ । अहिलेसम्म एक सय ७१ वटा बत्ती जडान गरिएको छ । सडक बत्ती जडान कार्य आगामी फागुनभित्र सकिने छ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार साँझ बिरौटा क्षेत्रमा जडान गरिएका हाइमास्ट र सडक बत्तीको संयुक्त रुपमा उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ । रिमोटमार्फत बिरौटा, लेकसाइडलगायत ठाउँमा राखिएका हाइमास्ट र सडक बत्ती बालिएको थियो । कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो । स्ट्रिट लाइटले रातको समयमा सडकको यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी पोखराको रात्रिकालीन सौन्दर्यता बढाउने छ । पोखरा महानगरपालिकाले सडक बत्तीको महसुल तिर्ने व्यवस्था गरिएको छ ।