म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण सुरु भएको छ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजनाको ५० प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजना आगामी असारभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्र बनाइएको छ । सिभिल तर्फ बाँध, पाइपलाइन र विद्युत्गृह, इलेक्ट्रोमेकानिकल, हाइड्रोमेकानिकल र प्रशारण लाइन निर्माण सँगसँगै अघि बढाइएको आयोजनाका इञ्जिनीयर आयुश भट्टराईले जानकारी दिनुभयो । सिभिल ठेकेदार साकुरा पावर कन्ट्रक्सनले खोपारा लेकको फेदीमा पर्ने कालोखोलामा बाँधको आधा काम सकेको छ । बाँध नजिकै ५०÷५० मिटर लामा दुई पानी थिग्राउने पोखरी (डिसेण्डर) निर्माणको काम अन्तिम चरणमा छ । बाँधदेखि विद्युत्गृहसम्म तीन हजार छ सय मिटर दूरीको पाइपलाइन जडानको काम सुरु भएको छ । बाँधमा पुग्ने पहँुचमार्गको कुनातर्फ पाइपलाइन राख्ने ठाउँ बनाइएको छ । रेलेखर्कमा जग्गा व्यवस्थापनको काम सकेर विद्युत्गृहको संरचना निर्माण थालिएको छ । विद्युत्गृहदेखि दाना सवस्टेशन जोड्ने ३३ केभी क्षमताको पाँच किलोमिटर प्रशारण लाइन निर्माणको प्रक्रिया अघि बढेको आयोजनाका आवासीय इञ्जिनीयर लोकबहादुर नायकले बताउनुभयो । डोजर, ब्याकुहोलोडरलगायत उपकरणका अतिरिक्त दैनिक एक सय ३० मजदूर र ४० भन्दा बढी प्राविधिक तथा कर्मचारी आयोजना निर्माणमा परिचालन भएका छन् । सुरुङ र नहरको विकल्पमा पाइपलाइबाट पानी ल्याएर पाँच सय पाँच मिटर माथिबाट विद्युत्गृहमा खसालिने भएको छ ।