सङ्घीय सरकारमा भएको नयाँ सत्ता समीकरणको प्रभाव मधेस प्रदेश सरकार गठनमा समेत पर्ने भएको छ । नयाँ सत्ता गठबन्धनअनुसार मधेस प्रदेशमा सरकार गठन गर्न चाहिने न्यूनतमभन्दा बढी सिट पुगेको अवस्था रहेको भए पनि सरकारको नेतृत्वबारे अझै टुङ्गो लागेको छैन । प्रदेशमा सत्ता घटक नेकपा (एमाले) प्रत्यक्ष र समानुपातिक गरी २३ सहित ठूलो दल बनेको छ । जनता समाजवादी पार्टीसित १६, जनमत पार्टीसित १३, नेकपा (माओवादी केन्द्र) सित आठ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीसँग एक÷एक सिट छ । सङ्घमा सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीको भने प्रदेशमा प्रतिनिधित्व छैन । मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी एक सय सात प्रदेशसभा सदस्य छन् । सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । सङ्घीय सरकारमा सहभागी राजनीतिक दलको मधेस प्रदेशमा ६२ सिट पुग्छ । यसरी हेर्दा मधेस प्रदेशमा सत्ता गठबन्धनलाई आवश्यकताभन्दा आठ सिट बढी भएकाले सरकार बनाउन सहज छ । यता स्वतन्त्रबाट पनि छ जनाले जितेका छन् । अहिलेको सत्ता गठबन्धनमध्येकै दलबाट असन्तुष्ट अधिकांशले स्वतन्त्रबाट जितेका हुन् । सरकारमा उनीहरू पनि सहभागी हुने अनुमान गरिएको छ । प्रदेशमा २२ सिटसहित दोस्रो दलको रुपमा रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी भूमिकामा जाने देखिएको छ । यहाँ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नौ र नेकपा (एकीकृत समाजवादी) ले सात सिट प्राप्त गरेका छन् ।