पर्वतमा निर्माण भएको मध्यमोदी जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । निजी क्षेत्रको मिडिल मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाले आठ वर्षपछि परीक्षण उत्पादन गरेको हो । परीक्षण उत्पादन सफल भएपछि यसै सातादेखि व्यावसायिक उत्पादनको तयारी छ । विसं २०७१ मङ्सिरदेखि उक्त आयोजनाको निर्माण थालिएको हो । निर्माण पूरा गरी परीक्षण उत्पादन सफल भएका कारण केही दिनभित्रै व्यावसायिक उत्पादन सुरु गरिने आयोजना प्रमुख प्रविन देसारले जानकारी दिनुभयो । “तीन वर्षमा नै आयोजना निर्माणको काम सक्ने गरी काम थालिएको थियो, निर्माणका क्रममा विविध समस्याका कारण आयोजनाको काम पाँच वर्ष पछाडि धकेलिएको हो”, उहाँले भन्नुभयो । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटी र नजिकै पर्ने पर्वतको मोदी गाउँपालिका–१ भूकको भुरुङडाँडामा बाँध निर्माण गरेर ल्याइएको मोदीखोलाको पानी पर्वतको मोदी गाउँपालिका–२ समादीमा खसालिएको छ । आयोजनाका लागि दुई हजार आठ सय ४० मिटर लम्बाइको ‘टनेल’ बाट पानी ल्याइएको पानी ७७ मिटर लामो टेलरेसबाट मोदीखोलामा खसालिएको छ । सम्झौतानुसार प्राधिकरणले आयोजना निर्माण सम्पन्न हुनुअघि नै विद्युत्गृहबाट देउपुरसम्म चार किलोमिटर लामो प्रसारण लाइन बनाएको छ ।