तनहुँको म्याग्दे गाउँपालिका–४ का कृषक समीक्षा श्रेष्ठले भैँसीपालनबाट मनग्य आम्दानी गर्नुभएको छ । “विदेश गएर पसिना बगाउनुभन्दा देशमै श्रम गर्दा आत्मसन्तुष्टि मिल्छ,” उहाँले भन्नुभयो, “विदेशमा जत्ति काम स्वदेशमै गर्न सके यहीँ मनग्य आम्दानी हुन्छ ।” बैङ्कबाट ऋण काढेर भैँसीपालन सुरु गर्नुभएका किसान श्रेष्ठले भैसीपालनबाट मनग्य आम्दानी हुन थालेपछि स्वदेशमै सन्तुष्ट रहेको बताउनुभयो । असिम भैसीफार्मका सञ्चालक उहाँले मासिक रु ५० हजार बचत गर्दै आउनुभएको छ । उहाँले आठ रोपनी जग्गा भाडामा लिएर भैँसी पालिरहनुभएको छ । प्रति भैसी रु दुई लाख ५० हजारका दरले छ भँैसी खरिद गरेर व्यवसाय सुरु गर्नुभएका उहाँले भन्नुभयो, “विदेशमा गएर श्रम गर्नुभन्दा घरपरिवारका साथ व्यवसाय सुरु गर्दा आनन्द आएको छ ।” आखिर जहाँ गएपनि श्रम गर्नुपर्ने जनाउँदै उहाँले देशमै केही गरौं भन्ने मनसायबाट पशुपालनतर्फ लागेको बताउनुभयो । “स्वदेशमा बसेर के गर्ने भन्ने सोचिरहेको थिएँ, पशुपालनमा राम्रो सम्भावना छ भन्ने सबैको सल्लाहपछि भैसीपालनलाई अगाडी बढाएको छु,” उहाँले भन्नुभयो । उहाँको भैँसीफार्ममा अहिले १३ वटा भैसी छन् । भँैसीका लागि आवश्यक घाँसका लागि उहाँले जग्गा भाडामा लिनुभएको छ । उहाँका अनुसार हालसम्म करिब रु ३० लाख लगानी भएको छ । भैँसीफार्मबाट दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ । दूध विक्रीका लागि बजारको समस्या नरहेको किसान श्रेष्ठ बताउनुहुन्छ । “दूधले राम्रो बजार पाइरहेको छ, बजार पाइएन भनेर कहिल्यै चिन्तित हुनपरेको छैन,” उहाँ भन्नुहुन्छ, “स्थानीय थर्पु बजार तथा आसपासमा दूध विक्री भइरहेको छ ।” बजार सानो भएपनि दूध विक्रीका लागि समस्या नहुँदा खुशी लागेको उहाँले बताउनुभयो ।