सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुरमा शीतलहरसँगै कुहिरो बढिरहेको छ । केही दिनदेखि कैलाली र कञ्चनपुरमा दिनभरिजसो बाक्लो कुहिरो लाग्दै आएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कैलाली तथा कञ्चनपुरसहित पश्चिम तराईका धेरै स्थान कुहिरोले प्रभावित भएको छ । महाशाखाले बिहान ८ बजेर ४५ मिनेटमा जारी गरेको मौसमी अवस्थामा धनगढीमा न्यूनतम तापक्रम नौ डिग्री छ । सोमबार धनगढीको न्यूनतम तापक्रम सात दशमलव पाँच डिग्री थियो । धनगढीमा मङ्गलबार न्यूनतम तापक्रममा केही सुधार भए पनि बाक्लो कुहिरो भने बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीमा दृष्यात्मक (पारदर्शिता) शून्य दशमलव एक माइल रहेको छ । एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र त्यसभन्दा बढी पारदर्शिता हुँदा हुस्सु लाग्ने सम्भावना धेरै रहने महाशाखाको भनाइ छ । धनगढीमा मङ्गलबारदेखि हुस्सु तथा कुहिरोको प्रभाव थिएन । महाशाखाका अनुसार पारदर्शिता छ हजार माइल रहेको थियो । महाशाखाले हुस्सु मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने सम्भावना रहेको उल्लेख गरेको छ । “बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ र मध्याह्नपछि क्रमिकरूपमा सुधार हुँदै जाने देखिन्छ । चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउनु हुनसमेत अनुरोध छ”, महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।