दुर्गम गाउँमा रङ्गशाला बन्दै
तमान गाउँको बीचमा पहिले सानो खेलमैदान थियो । गाउँलेले त्यसलाई रङ्गशाला निर्माण गर्न सक्रियता देखाए । सुरु–सुरुमा पालिका तथा प्रदेश सरकारबाट बजेट पनि प¥यो । अहिले कुनै पनि निकायबाट बजेटको व्यवस्था हुन सकेको छैन । ‘तमान रङ्गशाला’ निर्माण थालेको आधा दशक भयो । अहिलेसम्म रङ्गशाला निर्माणले पूर्णता पाउन सकेको छैन । तमानखोला गाउँपालिका–३ तमानगाउँमा निर्माणाधीन ‘तमान रङ्गशाला’ को कार्य प्रगति ५० प्रतिशतभन्दा माथि जान सकेको छैन । गाउँपालिकाले खेल क्षेत्रको विकास र प्रवद्र्धन गर्नका लागि रङ्गशाला निर्माण अगाडि सारे पनि यस वर्ष बजेट शून्य छ । पहिले विद्यार्थीहरु खेल्ने साँघुरो चौरलाई स्थानीयवासीको सक्रियतामा सम्याएर खेल मैदानको स्वरुपमा ल्याएको स्थानीय भेषबहादुर पुनले बताउनुभयो । उहाँले पहिले यो ठाउँ जलमग्न रहेको र यसलाई गाउँलेहरुले जनश्रमदान गरेर खेल मैदानका रुपमा विकास गरेको बताउनुभयो । पुन भन्नुहुन्छ, “यो ठाउँमा पानी जम्थ्यो, पछि यसलाई हामीले सम्याएर सानो मैदान बनाएका थियौँ, अहिले डोजर लगाएर यति ठूलो भयो, राम्रो पनि भयो, अब त केटाकेटीहरु पनि रमाएर खेल्न पाउनेछन्, कतै लोट्ला भन्ने डर पनि भएन, मेला महोत्सव गर्दा पनि सजिलो हुने भयो ।” लामो समयदेखि खेलमैदानका लागि जनश्रमदान गरेको भन्दै आफूहरुले गरेको दुःल्खको प्रतिफल बिस्तारै यहाँका युवा तथा खेलाडीहरुले पाउने अपेक्षा लिएको उहाँले बताउनुभयो । स्थानीयवासीको अधिक जनश्रमदान र गाउँपालिका, प्रदेश सरकार तथा केन्द्र सरकारसँगको सहकार्यमा रङ्गशाला निर्माण हुने आश्वासन पाएको उहाँको भनाइ छ ।