कोरोना महामारीले चौपट बनाएको पुस्तकको व्यापार राजधानीको पर्यटकीय केन्द्र ठमेलमा विस्तारै बढ्न थालेको छ । विदेशी पर्यटकलाई लक्षित गरी राखिएका पुस्तकको बिक्री बढ्न थालेको पिलग्रिम्स बुक हाउसका सञ्चालक कहानी तिवारीले बताउनुभयो । भारतबाट किताब खरिद गरेर ल्याउने र नेपालमा बिक्री गरिने उहाँले सुनाउनुभयो । पाँच–दश वर्षअघि हुने व्यापारको तुलनामा अहिले पुस्तक बिक्री छैन । तर कोरोना महामारी पछि पाठक थपिएको पिलग्रिम्स बुक हाउसका बिक्री प्रवन्धक गौरव अवस्थीले बताउनुभयो । “अहिले स्थानीय, त्यसमा पनि युवा पाठकको सङ्ख्या कोरोना महामारीपछि थपिएको छ । पर्यटक भने यो वर्ष धेरै आएका छैनन्”, उहाँले भन्नुभयो । पछिल्लो समय अनलाइनबाट पनि पाठकले आफूलाई मन परेको पुस्तक किन्न थालेका छन् । “विदेशी पसलमै आउँछन्, केहीले अनलाइनबाट लिन्छन्, स्थानीय पाठक आफैँ आएर हेरेर पुस्तक लैजान्छन्”, उहाँले भन्नुभयो, “जर्मन, फ्रान्स, अमेरिका, भारतलगायत देशका पर्यटक पुस्तक खोज्न आउँछन् ।” विदेशीको तुलनामा नेपाली पाठकको सङ्ख्या पनि कम छैन । अवस्थीका अनुसार नेपाली पाठकले ‘सेल्फ हेल्प’, व्यवसायसम्बन्धी, बालबालिकासम्बन्धी, साहित्य, नाटक, धार्मिक, सदगुरु, ओशोको पुस्तक धेरै खोज्छन् । पर्यटकले विदेशी लेखककै पुस्तक बढी खोज्ने उहाँको अनुभव छ । नेपाली लेखक बुद्धिसागरद्वारा लिखित अङ्ग्रेजी अनुवाद ‘कर्णाली ब्लुज’, पारिजातको ‘शिरिषको फूल’, मन्जुश्री थापाको ‘फरगेट काठमाडौँ’, सम्राट उपाध्यायको ‘द गुरु अफ लभ’,‘यारेस्टिङ गड इन काठमाडौँ’, ‘द रोयल घोस्ट’लगायतका पुस्तक विदेशी पाठकको रोजाइमा पर्छन् । थापाद्वारा लिखित ‘फरगेट काठमाडौँ’मा २०५८ सालमा नेपालमा भएको राजदरबार हत्याकाण्डदेखि आर्थिक सङ्कटको विषय समेटिएका छन् । जुन नेपाली पुस्तकमध्ये पर्यटकले बढी खोज्ने किताब हो ।