च्याउ खेतीबाट मासिक दुई लाख कमाउँदै निखिल
केही गर्छु भन्ने इच्छा शक्ति भयो भने न त पैसाले रोक्दो रहेछ, न त उमेरले छेक्दो रहेछ । विश्वास पनि अरूले गर्न नपर्ने रहेछ । जब आफूले आफ्नो इमान्दारिता, असल कर्म र सक्रियतामा विश्वास गरे पुग्ने रहेछ । गुल्मीको चन्द्रकोट गाउँपालिका–३ का निखिल खत्रीले आफूले अध्ययन गर्दा सिकेअनुसारको व्यवसाय गर्छुभन्दा कसैले विश्वास गरेनन् । घरपरिवार र छिमेकीले त्योभन्दा विदेश गएर धन कमाउन सुझाव दिए । अहिले २० वर्ष पुग्नुभएका निखिल डेढ वर्षअघि आफूमात्र अघि सरेर च्याउको बीउ उत्पादनमा लाग्नुभयो । रु दुई लाख लगानीमा सुरु गरिएको बीउ उत्पादनमा पाँच लाख आम्दानी भयो । त्यसपछि निखिललाई घरपरिवार र छिमेकीले पनि विश्वास गर्न थाले । उहाँले निखिल मल्टीप्रपोज एग्रो फार्म दर्ता गरेर चन्द्रकोट–५ ग्वाघाको धुँवाखर्कमा च्याउ खेती गर्नुभएको छ । दश रोपनी जग्गा लिजमा लिएर २० ठूला टनेलमा खेती गर्नुभएका उहाँले च्याउलाई ५० टनेलमा विस्तार गर्दै हुनुहुन्छ । आगामी चैतसम्म ३० टनेल थप्ने लक्ष्य छ । वार्षिक रु एक लाख तिरेर जग्गा लिजमा लिनुभएका निखिलले च्याउ खेतीमा रु २५ लाख लगानी गर्नुभएको छ । उहाँले बैंकबाट ऋण लिएर लगानी गरिरहेको बताउनुभयो निखिले चन्द्रकोट–४ मा रहेको उदय माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म कृषिसम्बन्धी पढ्नुभयो । त्यतिखेर प्रयोेगात्मक सिकाइको क्रममा उहाँ च्याउ खेती गर्नेमा बढी आकर्षित हुनुभयो । कक्षा १२ सकेपछि थप अध्ययनभन्दा पनि आफूले सिकेअनुसार व्यवसाय गर्छु भन्नेमा निखिल प्रेरित हुनुभयो ।