थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले आगामी वर्षको मे महिना अगावै थाइल्याण्डमा हुने आमनिर्वाचनका लागि उम्मेदवारी दिने तयारी गरेको शुक्रबार स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । प्रयुत सन् २०१४ मा भएको ‘कू’ मा सेना प्रमुखका रूपमा सत्तामा आउनुभएको थियो भने सन् २०१९ को चुनावबाट आफुलाई प्रधानमन्त्रीरूपमा अनुमोदन गराउनुभएको थियो । बैंककस्थित प्रधानमन्त्रीको सरकारी निवासबाहिर पत्रकारहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “नवगठित युनाइटेड थाई नेशन पार्टी’ले मलाई अर्को निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बन्न सहयोग गर्ने प्रस्ताव गरेको छ । “आज मैले यो भूमिकामा सामेल हुने निर्णय गरेको स्पष्ट पार्छु । प्रयुतले सत्तारुढ गठबन्धनको नेतृत्व गरिरहेको पलाङ प्रचारथ पार्टी (पीपीआरपी) छोड्ने अपेक्षा गरिएको छ । पिपिआरपीले आफ्ना नेता तथा कार्यवाहक उपप्रधानमन्त्री प्रवित वोङसुवानलाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने घोषणा गरेको छ । प्रयुत र प्रवित दुवैले थाइल्याण्डको सेनामा सेवा गर्नुभएको थियो । उहाँहरूको राजनीतिक भाग्य दशकौंदेखि गाँसिएको छ । प्रयुतले भन्नुभयो, “दुई नेताबीचको सम्बन्ध अझै बलियो छ, यद्यपि उनीहरूको राजनीतिक बाटो अलग रहेको छ ।