नुवाकोटको विकास निर्माण र सरकारी सेवा प्रवाह खस्कँदै गएको भन्दै यहाँको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित सङ्घीय सांसद र प्रदेशसभा सदस्यले चिन्ता व्यक्त गर्नुभएको छ । निर्वाचित भएसँगै पहिलोपटक बुधबार नुवाकोटका विभिन्न ५४ वटा सरकारी कार्यालयका प्रमुखसँग जनप्रतिनिधिको संयुक्त बैठकमा जिल्लाको वस्तुस्थितिको जानकारी लिएसँगै विकास निर्माणदेखि सरकारी सेवा प्रवाहमा अघिल्ला वर्षका तुलनामा निकै कमजोर देखिएको भन्दै उहाँहरूले चिन्ता व्यक्त गर्नुभएको हो । अब त्यस्तो अवस्था आउन नदिन नीति निर्माण गर्ने जनप्रतिनिधि र कानून कार्यान्वयन गर्ने तथा सेवा प्रवाहमा खटिने सरकारी कर्मचारीले इमान्दार भएर थप सक्रिय हुनुपर्ने सामूहिक ऐक्यबद्धता जनाएका छन् । प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले नुवाकोटको विकास निर्माणका लागि बजेटको आकारमा भएको कटौती, जनतालाई प्रवाह गरिने सेवामा देखिएका समस्या, भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायम गराउन नसकेको भन्दै सरोकारवाला सबै पक्ष जिम्मेवार हुनुपर्ने सुझाव दिनुभयो । परिवर्तन नारामा सीमित होइन, व्यवहारमा देखाउन नीति निर्माणको तहदेखि कानून कार्यान्वयनको पक्षमा समेत इमान्दारी आवश्यक रहको उहाँको भनाइ छ । “अहिले जनतामा देखिएको नैराश्य, निर्वाचनमा मतदाताको मुख्य दलप्रतिको वितृष्णा, युवा वर्गमा देखिएको विदेशमोह यो सुशासनको कमीको नतिजा हो”, सांसद तामाङले भन्नुभयो, “अब जनप्रतिनिधि र कर्मचारी दुवै संयन्त्रले सेवा प्रवाह कसरी सुधार गर्ने र गुणस्तरीय बनाउने भनेर सोच्नुपर्छ, लाग्नुपर्छ ।”