युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सबै प्रतिकूलता र विनाश र निराशाका बाबजुद युक्रेन जीवन्त र सक्रिय रहेको बताउनुभएको छ । स्थानीय समयअनुसार बुधबार अमेरिकी संसद सदस्यहरूलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सबै प्रतिकूलता, विनाश र निराशाका बाबजुद युक्रेन पतन भएको छैन । युक्रेन अझै जीवन्त र सक्रिय छ ।” रूसले युक्रेनमाथि आक्रमण गरेपछि भएको राष्ट्रपति जेलेन्स्कीको पहिलो विदेश भ्रमणका क्रममा उहाँले भन्नुभयो, “अमेरिकी काङ्ग्रेसमा तपाईं र सबै अमेरिकीसँग कुरा गर्न पाउनु ठूलो सम्मानको कुरा हो । सबै बाधाहरू, र विनाश र निराशाको विरुद्ध, युक्रेन पतन भएको छैन ।” उहाँले भन्नुभयो, “हामीलाई कुनै डर छैन, युक्रेनले आक्रमणको पहिलो चरण जितिसकेको छ । रूसी निरंकुशताले हामीमाथिको नियन्त्रण गुमाइसकेको छ ।” युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी जो बाइडेनसँगको भेटवार्तापछि अमेरिकी संसदका सदस्यहरूलाई सम्बोधन गर्नुभएको हो । भेटवार्तामा अमेरिकी राष्ट्रपति वाइडेनले युक्रेनलाई निरन्तर समर्थन गर्ने आश्वासन दिनुभएको थियो । जेलेन्स्कीले अमेरिकी संसदलाई सम्बोधन गर्ने क्रममा युक्रेनमा रूसको युद्धलाई नजरअन्दाज गर्न विश्व निकै अन्तरसम्बन्धित रहेको बताउनुभयो । उहाँले थप्नुभयो, “समुद्र वा अन्य कुनै कुराले सुरक्षा प्रदान गर्नेछ भन्ने आशामा यो युद्धलाई रोक्न वा स्थगित गर्न सकिँदैन ।”