चिनियाँ र अष्ट्रेलियाली विदेशमन्त्रीबीच रणनीतिक वार्ता भएको छ । चिनियाँ राज्य परिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी र उहाँका अष्ट्रेलियाली समकक्षी पेनी वोङबीच आज यहाँ छैटौँ चीन–अष्ट्रेलिया विदेश तथा रणनीतिक वार्ता भएको हो । चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहनुभएका वाङले दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवका अवसरमा वाङको भ्रमण भएको र उहाँको यो भ्रमणको प्रतीकात्मक महत्व रहेको बताउनुभएको छ । चीन र अष्ट्रेलियाबीचको सम्बन्धलाई लिएर कुनै गुनासो नरहेको तथा स्वार्थको द्वन्द्व पनि नरहेको बताउँदै चिनियाँ विदेशमन्त्रीले दुवै पक्ष आपसी सहयोगका साझेदार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले चीन र अष्ट्रेलियाबीचको रणनीतिक साझेदारीले दुवै देशका जनताको हित हुने तथा त्यसले एशिया–प्रशान्त क्षेत्रका साथै विश्वशान्ति र विकास प्रवद्र्धनमा योगदान गर्ने बताउनुभयो । चीनले नयाँ अष्ट्रेलियाली सरकारको द्विपक्षीय सम्बन्ध सुधार र विकास गर्ने इच्छाको प्रशंसा गरेको छ । विदेशमन्त्री वाङले द्विपक्षीय सम्बन्धलाई सुमधुर बनाउन भएका पारस्परिक सहमतिलाई दुवै पक्षले संयुक्त रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । चीन र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सवका सन्दर्भमा भएको अष्ट्रेलियाली विदेशमन्त्रीको यो भ्रमणले द्विदेशीय सम्बधलाई पुरानै अवस्थामा फर्काउने अपेक्षा अष्ट्रेलियाले गरेको छ । अष्ट्रेलियाली चार वर्षपछि भएको विदेशमन्त्री वोङको यो भ्रमणले आयातमा चीनले लगाएको प्रतिबन्धको अन्त्य तथा थुनामा रहेका दुई जना अष्ट्रेलियाली नागरिक रिहा हुने आशा जगाएको अष्ट्रेलियाली एसोसिएटेड प्रेसले जनाएको छ ।