संयुक्त राष्ट्रसङ्घका एकजना वरिष्ठ अधिकारीले आर्मेनिया र अजरबैजानबीच विवादित नागोर्नोकाराबाख क्षेत्रमा पुनः द्वन्द्व हुन नदिन अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेका छन् । आर्मेनिया र अजरबैजानले रुसको मध्यस्थतामा भएको शान्ति सम्झौता उल्लङ्घन गरेको आरोप एक अर्कालाई लगाएपछि राजनीतिक मामिलासम्बन्धी राष्ट्रसङ्घीय सहायक महासचिव मिरोस्लाभ जेन्काले उक्त आग्रह गर्नुभको हो । दुवै देशबीचको नयाँ द्वन्द्वले दक्षिणी काकेसस क्षेत्र र बाहिरका क्षेत्रमा प्रभाव पार्न सक्ने बताउँदै उहाँले आर्मेनिया र अजरबैजानबीचको दिगो शान्तिपूर्ण समाधानका निम्ति समयमै कूटनीतिक प्रयास दोब्बर बनाउनुपर्नेमा जोड दिनुभयो । तत्कालीन सोभियतसङ्घबाट अलग्गिएका आर्मेनिया र अजरबैजान नागोर्नोकाराबाखमा दशकौं पुरानो द्वन्द्वमा जेलिएका छन् । नागोर्नोकाराबाख अजरबैजानको भूभाग भएपनि सन् १९९४ मा पृथकतावादी युद्ध समाप्त भएदेखि उक्त क्षेत्र आर्मेनियाको समर्थन प्राप्त जातीय आर्मेनियाली सेनाको नियन्त्रणमा छ । सन् २०२० मा भएको छ हप्ता लामो युद्धपछि अजरबैजानले उक्त क्षेत्रमा आफ्नो पुनः दाबी गरेको थियो । उक्त युद्धमा छ हजार सात सयभन्दा बढीको मृत्यु भएको थियो । सन् २०२० मा रुसको मध्यस्थतामा भएको शान्ति सम्झौता विपरीत गत सेप्टेम्बरको मध्यमा हिंसात्मक द्वन्द्वमा दुवै देशका एक सय ५५ सैनिकको ज्यान गएपछि हायक महासचिव मिरोस्लाभ जेन्काले द्वन्द्व रोक्न कूटनीतिक प्रयास बढाउन जोड दिनुभएको हो ।