नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रुपमा बढी लगानी भएको देखिएको छ । उद्योग विभागको ‘विदेशी लगानीसम्बन्धी मासिक प्रगति विवरण’अनुसार गत कात्तिक मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने उद्योगहरुमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छन् । विभागको विवरणअनुसार गत कात्तिक मसान्तसम्म पाँच हजार छ सय २८ उद्योगका लागि आएको वैदेशिक लगानी प्रस्ताव स्वीकृत भइसकेको छ । यी उद्योगमा हालसम्म कूल रु चार खर्ब ३० अर्ब ८६ करोड ९७ लाख ५८ हजार बराबरको वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्याङ्कबाट देखिन्छ । गत कात्तिकमा मात्र विभागले रु तीन अर्ब ६५ करोड बराबरको वैदेशिक लगानी स्वीकृत गरेको थियो । यद्यपि, लगानी प्रस्ताव गरेका उद्योगको सङ्ख्या र रकम भने निकै बढी छ । गत असार मसान्तसम्ममा मात्र आठ हजार सात सय ६४ उद्योगका लागि कूल रु २६ खर्ब २७ अर्ब बराबरको लगानी प्रस्ताव भएको देखिन्छ । तर वैदेशिक लगानी प्रस्तावको तुलनामा लगानी स्वीकृत भएको रकम भने १६ प्रतिशत बराबर मात्रै हो ।