कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा पनि कम रहेको छ । यही पुस १ गते आठ सय ४६ जनाको परीक्षण गर्दा एक जनामा पनि सङ्क्रमण देखिएको छैन । उहाँका अनुसार अन्तिम पटक भदौ २७ गते कोभ्याक्समार्फत १४ लाख ९९ हजार नौ सय ४० मात्रा खोप ल्याइएको छ । त्यसयता सरकारले खोप ल्याइएको छैन । “अहिले प्रदेश र जिल्लाबाट खोपको माग भएको छैन । माग नभएपछि त्यतिकै राख्नुपर्दछ भनेर हामीले खोप ल्याएका छैनौं”, उहाँले भन्नुभयो, “तर बुस्टर डोजका लागि आवश्यक खोप भने ल्याउँछौँ ।” उहाँले खोपको माग कम भएपछि खोप नल्याइएको बताउनुभयो । “नेपाल ल्याएर खपत नहुने र म्याद सकिने डरले सम्झौता गरेको खोप पनि अहिले ल्याएका छैनौँ”, उहाँले भन्नुभयो, “आवश्यकता अनुसार सम्झौता गरिएको खोप ल्याउँछाँै ।” सम्झौता गरिएको मध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने नेपाल आइसकेको छ ।