जिल्लामा एकै समयमा तीन वटा महोत्सव हुने भएका छन् । चितवन महोत्सव, खिचरा महोत्सव र खैरहनी महोत्सव एउटै समय पारेर गर्न लागिएको हो । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई दुई वर्षमा आयोजना गर्ने चितवन महोत्सव यस वर्ष नारायणगढको नारायणी नदी किनारमा पुस २५ गतेबाट माघ ४ गतेसम्म नौ दिन हुनेछ । यस्तै थारु समुदायको कला संस्कृति जगेर्ना गर्न प्रत्येक वर्ष गरिँदै आएको खिचरा महोत्सव थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ ले पुस २९ गतेबाट माघ ९ गतेसम्म हुनेछ । खैरहनी नगरपालिका–५ जनकौलीस्थित गौचरनमा महोत्सव हुनेछ । यस्तै उद्योग वाणिज्य सङ्घ खैरहनीको आयोजनामा पुस २८ देखि माघ ८ गतेसम्म खैरहनी महोत्सव हुनेछ । खैरहनीको लदरी खोला किनारमा महोत्सव आयोजना गरिँदै छ । चौधौँ संस्करणको चितवन महोत्सव मूल आयोजक समितिका संयोजक एवं उद्योग वाणिज्य सङ्घ चिवनका अध्यक्ष चुमनारायण श्रेष्ठले यस वर्षको महोत्सव विगतको भन्दा परिस्कृत हुने बताउनुभयो । उहाँका अनुसार महोत्सवमा झण्डै पाँच सय स्टलमा स्वदेशी र विदेशी उत्पादनको प्रदर्शनी र बिक्री हुनेछ । सात लाख हाराहारीले अवलोकन गर्ने लक्ष्य लिएको महोत्सवमा दैनिक आर्थिकसम्बन्धी गोष्ठी हुने छन् । विभिन्न धर्म, संस्कृति र पर्यटन प्रवद्र्धनमा समेत महोत्सव केन्द्रित हुनेछ सँगै रहेको नारायणी नदीमा जलक्रिडाको व्यवस्था गरिँदै छ ।