अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्यो
शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी सरस्वती बम बैजनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । सामुदायिक (सरकारी) विद्यालयमा पढ्दै आउनुभएकी उहाँ अङ्ग्रेजी भाषा फरर बोल्नु र लेख्न सक्नुहुन्छ । विद्यालयमा अभिभावक, शिक्षक, सामुदायिक वनका पदाधिकारी र वडाका जनप्रतिनिधिको प्रयासमा विद्यालयमा अङ्ग्रेजी भाषामा पढाइ हँुदै आएको छ । अङ्गे्रजीको अनिवार्य विषयसँगै अतिरिक्त अंग्रेजीमा पनि पढाइ हुने गरेको छ । गाउँकै विद्यालयमा अङ्ग्रेजीमा पढाइ हुन थालेपछि विद्यार्थी चाप बढ्दो रहेको छ । टाढाको निजी विद्यालयमा चर्को शुल्क तिरेर अङ्ग्रेजीकै लागि पढ्दै आएका बालबालिकालाई अभिभावकले छुटाएर गाउँकै विद्यालयमा भर्ना गरेका छन् । विद्यालयका प्रधानाअध्यापक अमर सिंह महराले अङ्ग्रेजीमा पढाइ हुँन थालेपछि विगतमा भन्दा विद्यालयमा विद्यार्थीको सङ्ख्या बढेको बताउनुभयो । “अङ्ग्रेजी विषयमा पढाइ सुरु भएपछि विद्यार्थीको चाप बढ्दो छ”, उहाँले भन्नुभयो, “हाल विद्यालयमा दुई सय ८६ विद्यार्थी पढ्दै आएका छन्, विद्यालयमा अङ्ग्रेजी विषयका शिक्षकको व्यवस्था गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने प्रयासमा जुटेका छौँ ।” कक्षा १ देखि ८ सम्म अङ्ग्रेजीमा पढाइ हुने गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई विद्यालयले कुनै पनि किसिमको शुल्क भने लिने गरेको छैन । विद्यालयबाट विद्यार्थीलाई टाई, बेल्टसँगै खेलकुद सामग्री निःशुल्क रुपमा उपलव्ध गराइँदै आएको छ । विद्यार्थी भर्ना, परीक्षा, प्रमाणपत्र बापतको शुल्क पनि लिने गरिएको छैन । नगरपालिकामा अङ्ग्रेजीमा पढाइ हुने सामुदायिक विद्यालयमा बैजनाथ पहिलो हो ।