जिल्लाको व्यास नगरपालिका कार्यालयमा आजदेखि विद्युतीय कर भुक्तानी सेवाको शुभारम्भ गरिएको छ । नगरपालिका नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बीच आफ्नो कर तिरेर उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले गण्डकी प्रदेशको समन्वयमा रु दुई करोडको लागतमा कर भुक्तानी सेवा सञ्चालनमा ल्याइएको बताउनुभयो । व्यास नगरपालिका मातहत रहेका १४ वटै वडामा डिजिटल प्रविधिको अभ्यास भइरहेको उहाँले जानकारी दिनुभयो । “चुस्त, दुरुस्त र विश्वसनीय बनाउने विश्वास लिएको छौँ”, उहाँले भन्नुभयो, “कमीकमजोरीलाई सुधार गर्दै अघि बढ्ने छौँ ।” प्रत्येक वडाका नागरिक बडापत्र राखेर प्रविधिमैत्री बनाउन लागेको उहाँको भनाइ थियो । विद्युतीय कर भुक्तानीका लागि विद्युत् र इन्टरनेटको पहुँच पुग्न आवश्यक रहेको व्यासका आइटी इञ्जीनियर टीकाराम दाहालले बताउनुभयो । पराम्परागत शैलीबाट काम गर्न झन्झटिलो हुनुका साथै ढिलासुस्ती हुने भएकाले बदलिँदो परिस्थितिअनुरूप आधुनिकीकरणलाई अवलम्बन गर्न आवश्यक रहेको उहाँको भनाइ थियो ।