कैलालीको जानकी गाउँपालिका–३ सुवर्णपुरका गर्भु चौधरी मङ्गलबार बिहानै खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुर गोदाममा धान बिक्रीका लागि पुग्नुभएको थियो । सरकारले धानको समर्थन मूल्य तोकेको लामो समयपछि धान खरिद सुरु गरेपछि १६ बिघामा लगाएको धान बिक्रीका लागि गर्भु टीकापुर गोदाम पुग्नुभएको हो । धान बिक्रीका लागि आउनुभएका उहाँ रातभर त्यहीँ बस्नुभयो । लाइनमा बस्नुभएका गर्भुको बुधबार पनि पालो आएन । “दुईवटा गोरु गाडामा धान ल्याएर आएको थिए । लाइन धेरै लामो रहेछ ।” उहाँले भन्नुभयो, “असोजमा भित्र्याएको धान बिक्री गर्न निकै सास्ती छ ।” जानकी गाउँपालिका–७ का हिक्मतबहादुर चौधरी पनि धान बिक्री गर्नका लागि दुई रात बिक्री केन्द्रमै बस्नुपरेको बताउनुहुँन्छ । बाह्र बिघा १० कट्टा क्षेत्रफलमा धान खेती गर्नुभएका उहाँले १० क्विन्टल धान अन्यत्र लगेर बिक्री गरिसक्नुभएको छ । घर खर्च टार्न र हिउँदे खेती गर्न मल खरिदका लागि सस्तोमा धान बिक्री गरेको उहाँले बताउनुभयो । “बजारमा प्रती क्विन्टल रु दुई हजार चार सयका दरले धान बेचेर घरको खर्च जोहो गर्नुपर्यो । बाँकी धान बिक्रीका लागि खाद्यको बिक्री केन्द्रमा ल्याएर आएको छु”, चौधरीले भन्नुभयो, “घरबाटै खाना ल्याएर यतै खाँदै बसेको छु । खुला आकाशमुनि चिसोमा पालो कुरेर बस्नुपरेको छ ।”