संरक्षणको अभाबमा निगौल गाई गौशालामा रहेका गाईको अहिले बिजोग भएको छ । उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित उक्त गौशालाका गाई धमाधम मर्न थालेका छन् । बढ्दो चिसोमा कुपोषणका कारण ब्याएका गाई पनि एकपछि अर्को ढल्न थालेका छन् । “तीन दिन अघि मात्रै एक महिना अघि ब्याएको गाई खानै नपाएर म¥यो” गौशालाको प्रशासन सम्हाल्ने खरिदार सुरेश सिंह भन्नुहुन्छ, “गौशालामै गाई खान नपाएर भकाभक मर्दैछन्, यहाँको बिजोगले कस्तो ठाउँमा काम गर्नुपरेछ भन्ने लागेको छ ।” खाए पनि नखाए पनि सुख्खा परालको भरमा गौशालाका गाई रहेका उहाँकोे भनाइ छ । गत साउनयता मात्रै ठूला र साना बाच्छाबाच्छीसहित ३८ वटा गाई मरिसकेका खरिदार सिंह उल्लेख गर्नुहुन्छ । राष्ट्रिय सहकारी विकास बोर्डअन्तर्गत रहेको यो गौशालाका गाई उचित रेखदेख, पौष्टिक आहार र उपचारसमेत नपाएर दुब्लो र ख्याउटे अवस्थामा पुगेका छन् । “न गाईलाई पर्याप्त आहार छ, न खानपानको व्यवस्थित तालिका नै, गोठ पनि के भनौँ ? खोरमा थुनिएका छन् ” गौशाला हेर्न पुग्नुभएका बर्दिबास–१ का होटल व्यवसायी दीपेन्द्र पराजुली भन्नुहुन्छ, “गौशालाका गाई कुनै मुद्दामा थुनिएका कैदीजस्ता भएका छन् । खानपानको प्रबन्ध र उपचार नपाएरै गाई जिङ्राउँदै मर्ने क्रम बढेको छ ।” “हामी केही साथी गौशाला हेर्ने रहरले एक महिना पहिले आएका थियौँ, यहाँ त बिजोग पो रहेछ” उहाँ बताउनुहुन्छ, “ गौशालाको राम्रो व्यवस्थापन नहुँदा गाइको कन्तविजोग देखियो ।” यस्तो अवस्था देखेपछि तत्कालै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिब नम्रता सिंहलाई भेटेर तत्काल आवश्यक पहल गर्न अनुरोध गरिीएको पराजुलीको भनाइ छ । अहिले पनि गौशालामा करिब तीन सय गाई छन् । भङ्गाहा नगरपालिका–४ रामनगरका रामईश्वर ठाकुर भन्नुहुन्छ, “सबैजसो गाईका हाडछालामात्र देखिन्छ । पाल्नै नसकिने गरी सरकारले किन गौशालामा राखेर गाईको बिजोग देखाएको होला?”