दोस्रो कार्यकालका लागि गठन हुन लागेको सुदूरपश्चिम प्रदेशसभाको बैठक सञ्चालनका लागि धनगढीस्थित प्रदेशसभा भवनका आवश्यक संरचनामा सुधार गर्ने काम भइरहेको छ । प्रदेशसभा भवनको बैठक कक्षमा राखिएका कुर्सी, टेबुल, माइकको पुनः जडान कार्यका साथै र थप केही संरचनामा पहिलेको भन्दा सुधार गर्न लागिएको छ । यसबाहेक बैठक कक्षबाहिर सरसफाई र आवश्यक संरचनामा रङरोगन गर्ने कामसमेत भइरहेको छ । प्रदेशसभाका सचिव देवबहादुर बोगटीले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम(युएनडिपी)को संसद् सहयोग परियोजनाको रु २० लाखको सहयोगमा सबै काम भइरहेको बताउनुभयो । “प्रदेशसभाको बैठक सञ्चालनका लागि सचिवालयले गर्नुपर्ने आफ्नो तयारी गरिरहेका छौँ,” सचिव बोगटीले भन्नुभयो, “प्रदेशसभाका नव निर्वाचित सदस्यका बारेमा निर्वाचन आयोगबाट जानकारी आइसकेपछि सचिवालयले गर्नु पर्ने कामका बारेमा सम्बन्धित पक्ष र निकायसँग समन्वय गर्ने तयारीमा छौँ ।” प्रदेश तहमा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्त्वपूर्ण संस्था प्रदेशसभा हो । शासन प्रणालीमा तोकिएको विधिका माध्यमले नीति निर्धारण र कानून निर्माण गर्ने महत्त्वपूर्ण काम प्रदेशसभाले गर्छ । सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको कार्यान्वयनसँगै विसं २०७४ देखि प्रदेशस्तरमा प्रदेशसभाले काम थालेको हो । हालै सम्पन्न निर्वाचनमार्फत प्रदेशसभाको दोस्रो कार्यकाल सुरु हुन लाग्दा सुदूरपश्चिम प्रदेशसभा भवन र बैठक कक्षलाई चिटिक्क पार्न लागिएको हो । सम्पन्न चुनावको अन्तिम नतिजासँगै सुदूरपश्चिम प्रदेशसभामा छ दलको प्रतिनिधित्व हुँदैछ । त्रिपन्न सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । उन्नाइस सदस्य विजयी हुँदै सबैभन्दा ठूलो दल नेपाली कांग्रेस बनेको छ । आठ प्रत्यक्ष र तीन समानुपातिक गरी ११ सदस्य विजयी भएको नेकपा (माओवादी केन्द्र) दोस्रो र तीन प्रत्यक्ष र सात समानुपातिक गरी १० सदस्य विजयी भएको नेकपा (एमाले) तेस्रो दलको रूपमा देखिएको छ ।