२८ मंसिर, काठमाडाैं ।

सशस्त्र द्वन्द्वका बेला स्थानान्तरण भएको संस्कृत गुरुकुललाई गाउँमै पुनःस्थापना गर्ने उद्देश्यले सञ्चालित ‘बिहुँकोट धार्मिक महोत्सव–२०७९’ मा रु दुई करोड २५ लाख सहयोग सङ्कलन भएको छ ।

काठेखोला गाउँपालिका–५ रामकोटधाममा बिहीबारदेखि सुरु भई बुधबार सकिएको महोत्सवमा सो रकम उठेको महोत्सवका संयोजक देवीलाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव सुरु हुनुअगावै रु ६५ लाख जुुटिसकेको थियो भने त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको थियो । “धेरै रकम विदेशमा रहनुभएका बिहुँकोटे दाजुभाइ, दिदीबहिनी र शुभेच्छुकहरुबाट प्राप्त भएको छ”, उहाँले भन्नुभयो ।

आयोजकले महोत्सवबाट रु तीन करोड सङ्कलन गर्ने अपेक्षा राखेको थियो । महोत्सव सकिए पनि आर्थिक सङ्कलन अभियान भने जारी रहने जनाइएको छ । बिहुँकोट अन्तर्राष्ट्रिय समाजको पहल र सङ्कल्पमा महोत्सव आयोजना गरिएको हो ।

रामकोटधामका संस्थापक दिवङ्गत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विसं २०३१ मा स्थापना गर्नुभएको गुरुकुल पाठशाला विसं २०५६ मा तनहुँको देवघाटमा सरेको थियो । उक्त गुरुकुललाई पुनः रामकोटधाममै फर्काउने उद्देश्यले महोत्सव आयोजना गरिएको परमानन्द सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीले बताउनुभयो । गुरुकुल परम्पराका माध्यमबाट संस्कृत विद्यालाई अघि बढाउनुपर्नेमा उहाँको जोड छ । सात दिनसम्म चलेको महोत्सवमा सन्त सम्मेलन, धार्मिक प्रवचन, बैदिक पूजाअर्चना, झाँकी प्रदर्शनी, भजन सङ्र्कीतन, पञ्चेबाजा प्रतियोगितालगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

महोत्सवमा धवलागिरि र आसपासका क्षेत्रबाट श्रद्धालुहरूको उल्लेख्य सहभागिता रहेको थियो । महोत्सवबाट सङ्कलित रकम संस्कृत गुरुकुल सञ्चालनमा खर्च गरिने समाजका अध्यक्ष सुवेदीले बताउनुभयो । “आर्थिक स्रोत र पूर्वाधारको सुनिश्चिता भएपछि गुरुकुल सञ्चालनमा आउँछ”, उहाँले भन्नुभयो, “गुरुकुल पाठशालाले संस्कृत विद्या र सनानत संस्कृतिको संरक्षणमा टेवा पुग्ने विश्वास लिएका छौँ ।”