बाँके नरैनापुर गाउँपालिकामा इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि गाउँपालिकाले पहल सुरु गरेको छ । नरैनापुर गाउँपालिकाको कार्यपालिका बैठकले इलाका प्रशासन कार्यालय, मालपोत र नापी कार्यालय स्थापनाका लागि आवश्यक व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालय बाँकेसमक्ष अनुरोध गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । हाल सेवा प्रवाहमा सहज पहुँच नभएकाले सङ्घीयताको मर्म र भावनाअनुसार एकीकृत तथा विकेन्द्रीकृत सेवा प्रवाह गर्ने राज्यको नीतिअनुसार गाउँपालिका क्षेत्रभित्र रहने गरी इलाका प्रशासन, मालपोत र नापी कार्यालय स्थापनाका लागि कार्यपालिकाबाटै निर्णय गरिएको गाउँपालिका अध्यक्ष इश्तियाक अहमद साहले बताउनुभयो । उहाँले भन्नुभयो, “नरैनापुर गाउँपालिकाबाट जिल्ला प्रशासन कार्यालय पुगेर सेवा लिन असहज छ, “नागरिकलाई गाउँ–गाउँबाट सेवा दिने सङ्घीयताको मर्म र भावनाअनुसार स्थानीयस्तरमै सेवाको आवश्यकता छ”, उहाँले भन्नुभयो, “इलाका प्रशासन, मालपोत र नापी कार्यालयका लागि चाहिने अन्य पूर्वाधार भवनको व्यवस्था गाउँपालिकाले गर्नेछ ।” “नागरिकता, राहदानी र अन्य सिफारिस बनाउन सदरमुकाम जानुपर्ने बाध्यताको अझै अन्त्य भएन, गाउँ–गाउँमा सिंहदरबार नाममा मात्र सीमित बन्यो”, उहाँले भन्नुभयो ।